अदालतको परमादेशपछि सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध मुद्दा दर्ता
बारा । बारा क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का
सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय, बारामा मुद्दा दर्ता गरिएको हो।
देवताल गाउँपालिका–५ निवासी ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा मुद्दा दर्ता भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पुष्टि गरेका छन्। उनका अनुसार अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। हालसम्म कसैविरुद्ध पक्राउ पुर्जी जारी नभएको उनले बताए।
जाहेरीमा महतोले गाउँमा हुने गतिविधिको विरोध गरेपछि आफूलाई सामाजिक बहिष्कार गरिएको, सार्वजनिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र आफ्नो प्रतिष्ठामा असर पर्ने गरी प्रचार गरिएको आरोप लगाएका छन्। उनले घटनासँग सम्बन्धित केही कागजात प्रमाणका रूपमा पेस गर्दै आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको मागसमेत गरेका छन्।
जाहेरीमा सांसद सिंहसहित १४ जनाको नाम उल्लेख गरिएको छ। तर, जाहेरीमा लगाइएका आरोपहरू पुष्टि भइसकेका छैनन्। ती आरोपको सत्यता अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।
प्रहरीका अनुसार यसअघि पनि मुद्दा दर्ताका लागि प्रयास भएको थियो। अदालतको आदेशपछि दर्ता भएको मुद्दामा घटनाको प्रकृति, पेस गरिएका प्रमाण तथा आरोपमा उल्लेखित व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए।
यस मुद्दामा अनुसन्धान जारी रहेकाले आरोपित व्यक्तिहरूको दोष प्रमाणित भइसकेको मान्न मिल्दैन। राम्रो फोटो ब्यानर बनाउ







Discussion about this post