ज्यानसम्बन्धी कसुरमा एमाले नेता जालिम मियाँका जेठा छोरा पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार अहमदलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका–१३, मुर्लीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार अहमदमाथि नातामा साली पर्ने एक महिलाको हत्या गरेको आरोप छ। २०७८ सालमा ती महिलाको शव श्मशानघाटमा दफन गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उक्त घटनासम्बन्धी अनुसन्धान जारी रहे पनि करिब पाँच वर्षपछि अहमद पुनः पक्राउ परेका हुन्।
घटनाको समयमा राजनीतिक तथा व्यक्तिगत पहुँचका कारण अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोपसमेत लाग्दै आएको थियो। यद्यपि, यसबारे प्रहरीले अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा तथ्य संकलन भइरहेको जनाएको छ।
पछिल्लो समय उक्त घटनाको अनुसन्धानलाई प्रहरीले पुनः तीव्र बनाएसँगै घटनामा संलग्न भएको आरोप लागेका अन्य केही व्यक्ति भने अझै फरार रहेको जनाइएको छ।
अहमदमाथि लागेको आरोपको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। आरोप पुष्टि वा दोषी ठहर भने अनुसन्धान तथा कानुनी प्रक्रियाबाटै हुने प्रहरीले जना
एको छ।







Discussion about this post