पदभार ग्रहणलगत्तै आक्रामक बने मेयर राजेशमान सिंह, सांसद पन्तलाई खुला चुनौती
वीरगन्ज । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पुनः पदभार ग्रहण गरेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पदभार ग्रहणलगत्तै आक्रामक रूपमा प्रस्तुत हुँदै प्रतिनिधि सभा सदस्य हरिपन्तलाई खुला चुनौती दिएका छन्।
बुधबार वीरगन्ज महानगरपालिकामा आयोजित पदभार ग्रहण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले सांसद पन्तमाथि कडा टिप्पणी गरेका हुन्। उनले पन्तलाई ‘बाहिरको पहडिया’ भन्दै पूर्वमन्त्री प्रदीप यादवको पहलमा भएका विकास निर्माणका कामलाई समेत सांसद पन्तले आफ्नो श्रेयका रूपमा प्रचार गरिरहेको आरोप लगाए।
मेयर सिंहले भने, “संसद्मा महानगरभित्र भ्रष्टाचार मात्रै देख्ने तर यहाँको जनशक्ति अभाव र बजेटको बेथिति नदेख्नु दुर्भाग्यपूर्ण हो।”
गत निर्वाचनमा जनताले ‘लहर’का आधारमा पन्तलाई निर्वाचित गरेको टिप्पणी गर्दै सिंहले वीरगन्जवासीको मतप्रति समेत व्यङ्ग्य गरेका थिए।
“दम छ भने अख्तियार लिएर आउनुहोस्”
मेयर सिंहले आफूले कार्यकालमा कुनै भ्रष्टाचार नगरेको दाबी गर्दै सांसद पन्तलाई छानबिनका लागि खुला चुनौती दिएका छन्।
उनले भने, “मैले आफ्नो कार्यकालमा अहिलेसम्म कुनै भ्रष्टाचार गरेको छैन। यदि बहालवाला सांसदलाई दम छ भने अख्तियार लिएर आउनुहोस् र मेरो कार्यकाल तथा पूर्वमेयरको कार्यकालसमेत छानबिन गर्न म खुला चुनौती दिन्छु।”
कर्मचारीलाई चेतावनी : “कडा कलम चलाउन बाध्य नपार्नुहोस्”
आफू अनुपस्थित रहेको समयमा केही कर्मचारीले चलखेल गरेको संकेत गर्दै मेयर सिंहले कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्किएर काम गर्न चेतावनी दिए।
उनले भने, “आफूखुसी छाडा बनेका कर्मचारीहरू तत्काल आ–आफ्नो स्थानमा फर्किएर काम गर्नुहोला। मलाई कसैको फाइलमाथि कडा कलम चलाउन बाध्य नपार्नुहोस्।”
सेवाग्राहीबाट राजस्व शाखामा टोकन प्रणालीका कारण समस्या भइरहेको गुनासो आएपछि सिंहले तत्काल टोकन प्रणाली हटाउन समेत निर्देशन दिएका छन्।
“षड्यन्त्र असफल भयो, अब वैभव वीरगन्ज बनाऔँ”
आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरिए पनि विशेष अदालतले सफाइ दिएको उल्लेख गर्दै मेयर सिंहले आफूविरुद्ध गरिएको भनिएको षड्यन्त्र असफल भएको दाबी गरे।
आफ्नो अनुपस्थितिको समयमा चरित्र हत्या गर्ने प्रयास भएको आरोप लगाउँदै उनले अब राजनीतिक पूर्वाग्रह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर महानगरको विकासमा सबै पक्ष एकजुट हुनुपर्ने बताए।
सम्बोधनको अन्त्यमा मेयर सिंहले सबै पक्षलाई साथमा लिएर ‘वैभव वीरगन्ज’ निर्माणको अभियानमा अघि बढ्न अपिल गरे।







Discussion about this post