क्यासिनोबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप चार दिन हिरासत
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको म्याद दिइएको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिङ्गर गेमिङ जोन क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि यसअघि पहिलो चरणमा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।
उक्त म्याद सकिएपछि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार थप चार दिनको म्याद स्वीकृत गरेको हो।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिताअनुसार गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान भइरहेको र अनुसन्धानलाई थप तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।







Discussion about this post