सनातन धर्म र संस्कृति संरक्षणमा ३७ वर्षदेखि सक्रिय आदर्श कवारिया संघको बैठक सम्पन्न

सनातन धर्म र संस्कृति संरक्षणमा ३७ वर्षदेखि सक्रिय आदर्श कवारिया संघको बैठक सम्पन्नवीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिका–स्थित टोल देउरियामा शनिबार आदर्श कवारिया संघको बैठक सम्पन्न भएको छ। विगत ३७ वर्षदेखि सनातन धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रचार–प्रसारमा सक्रिय संघले आगामी बोलबम यात्रालगायत विभिन्न धार्मिक कार्यक्रमबारे महत्वपूर्ण निर्णय गरेको छ।

वि.सं. २०४५ सालदेखि सञ्चालन हुँदै आएको संघले पटेर्वा सुगौली गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल भाथाधाम बाबा दूधेश्वरनाथ मन्दिरको धार्मिक महत्वलाई देशभर चिनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।

संघले प्रत्येक वर्ष श्रावण महिनामा बोलबम यात्रा आयोजना गर्दै भारत तथा नेपालका विभिन्न पवित्र नदीबाट जल ल्याई भाथाधामस्थित बाबा दूधेश्वरनाथ मन्दिरमा जलाभिषेक गर्दै आएको छ।

शनिबार सम्पन्न बैठकले आगामी श्रावण २१ गते भारतको त्रिवेणी नदीबाट जल भरेर करिब पाँच दिनको बोलबम यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष राजेश्वर पञ्जियार थारुका अनुसार यात्रामा सहभागी भक्तजनले साउन महिनाको दोस्रो सोमबार भाथाधामस्थित बाबा दूधेश्वरनाथ मन्दिरमा जल अर्पण गर्नेछन्।

संघका कोषाध्यक्ष शम्भु चौधरीले भाथाधामलाई राष्ट्रियस्तरमा परिचित गराउन तथा यसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रचार–प्रसार गर्न संघ निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार सनातन धर्म र परम्पराको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आदर्श कवारिया संघमा पटेर्वा सुगौली गाउँपालिकासहित जिराभवानी र सखुवा प्रसौनी गाउँपालिकाका करिब ५०० जना सदस्य आबद्ध रहेको जनाइएको छ।

बैठकमा संघका अध्यक्ष राजेश्वर पञ्जियार थारु, महासचिव बालेश्वर महतो चौधरी, सचिव प्रमोद चौधरी, कोषाध्यक्ष शम्भु चौधरी, सल्लाहकार रूपनारायण चौधरी तथा सदस्यहरू बमबहादुर, ब्याजनाथ महतो, विनोद चौधरी, किशोरी दासलगायत ५० भन्दा बढी सदस्यको सहभागिता रहेको थियो। साथै सामाजिक अभियन्ता तथा सञ्चारकर्मी कन्हैया पटेलको पनि उपस्थिति रहेको थियो।

संघले आगामी दिनमा भाथाधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई देशव्यापी रूपमा प्रचार–प्रसार गर्दै थप श्रद्धालु भक्तजनलाई यस पवित्र धार्मिकस्थलसँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित