दाइजो उत्पीडन मुद्दाका आरोपित डाक्टर अस्पतालको एसी केबिनमा, अनुसन्धानको निष्पक्षतामाथि प्रश्न
कलैया । दाइजो उत्पीडन तथा घरेलु हिंसाको आरोपमा पक्राउ परेका काठमाडौंस्थित मनमोहन मेमोरियल टिचिङ अस्पतालमा कार्यरत डा. कृष्ण गुप्ता अस्पतालको एसी केबिनमा उपचाररत रहेपछि अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठेको छ।
पीडित चेतनकुमारी शाहसँग २०८१ फागुन २३ गते विवाह गरेका डा. गुप्तामाथि विवाहपछि थप दाइजोस्वरूप करिब ४९ लाख रुपैयाँ बराबरको टाटा नेक्सन गाडी वा सो बराबरको नगद रकम माग गर्दै शारीरिक तथा मानसिक यातना दिएको आरोप छ। पीडित पक्षका अनुसार माग पूरा नभएपछि पटक–पटक कुटपिट, गालीगलौज, ज्यान मार्ने धम्की तथा घरबाट निकाल्ने व्यवहार गरिएको थियो।
उक्त आरोपका आधारमा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु भएपछि डा. गुप्ता असार २३ गते प्रहरीसमक्ष उपस्थित भएका थिए। त्यसपछि असार २६ गते स्वास्थ्य समस्या देखाउँदै वीरगञ्जस्थित एसएल न्युरो अस्पतालमा भर्ना भएका हुन्।
पीडित परिवारले अस्पताल भर्ना हुनु हिरासतबाट बच्न र अनुसन्धान प्रभावित पार्ने प्रयास भएको आरोप लगाएको छ। उनीहरूको भनाइमा, सामान्य नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिने तर प्रभावशाली व्यक्तिलाई सुविधासम्पन्न एसी केबिनमा राखिनुले कानुनी समानताको सिद्धान्तमाथि प्रश्न उठाएको छ।
यसैबीच, मुद्दाका अन्य आरोपित डा. गुप्ताका बुबा रामचन्द्र शाह कानु र आमा शिलादेवी गुप्ता अझै फरार रहेको पीडित पक्षको दाबी छ। मुख्य आरोपित अस्पतालमा उपचाररत र अन्य आरोपित फरार रहनुले अनुसन्धान प्रक्रियाप्रति थप शंका उत्पन्न भएको उनीहरूको भनाइ छ।
पीडित परिवारले आवश्यक परे डा. गुप्तालाई प्रहरी निगरानीमै उपचार गरिए पनि स्वतन्त्र मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराई निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको छ।
यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले डा. गुप्ताको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचाररत चिकित्सकको सल्लाहअनुसार प्रहरीको निगरानीमा अस्पतालमै राखेर अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित