किस्ताबन्दीमा समान दिने बहानामा सञ्चालन भएको’अभियान डिजिटल वर्ल्ड’का सञ्चालक दिपेश बर्नवालसहित ३ जना फरार, सयौँ सर्वसाधारण पीडित

वीरगञ्ज। वीरगञ्जमा करिब तीन वर्षअघि किस्ताबन्दीमा विभिन्न सामग्री उपलब्ध गराउने भन्दै सञ्चालनमा आएको ‘अभियान डिजिटल वर्ल्ड’ का सञ्चालकहरू करोडौँ रुपैयाँ संकलन गरेपछि सम्पर्कविहीन भएको आरोप लागेको छ। घटनामा सयौँ सर्वसाधारण तथा बजार प्रतिनिधिहरू पीडित बनेका छन्।

पीडितहरूका अनुसार संस्थाले प्रत्येक सदस्यबाट रु. ३१ हजार ७२५ का दरले रकम संकलन गरेको थियो। केही सदस्यलाई करिब रु. १२ देखि १५ हजार बराबरको सामान उपलब्ध गराइए पनि अधिकांशलाई हालसम्म कुनै सामान नदिइएको गुनासो छ। तीन वर्ष बितिसक्दा पनि प्रतिबद्धताअनुसार सामान वितरण नगरी सञ्चालकहरू दिपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ। संस्थाका अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगञ्जमै रहे पनि पीडितहरूलाई सामान उपलब्ध गराउन कुनै पहल नगरेको आरोपसमेत लगाइएको छ। त्यस्तै संस्थाका लेखापाल तथा सञ्चालक दिपेश बरवालका छोरा योगेश बरवाल विरुद्ध पनि उजुरी दिएको एक बजार प्रतिनिधिले बताए।

पीडितहरूको भनाइअनुसार सञ्चालकहरूबीचको मतभेद र आर्थिक बेइमानीका कारण संस्थाको काम पूर्ण रूपमा प्रभावित भएको हो। यसको प्रत्यक्ष असर सेवाग्राहीमाथि परेको उनीहरूको भनाइ छ। हजारौँ सदस्यले रकम बुझाए पनि अहिलेसम्म वाचा गरिएअनुसार सामान प्राप्त गर्न नसकेको दाबी गरिएको छ।

संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू ठगिएको बताएका छन्। संस्थाको विश्वासमा परेर सर्वसाधारणलाई सदस्य बनाएको तर अहिले सामान नपाएका सेवाग्राहीबाट गालीगलौज, धम्की र मानसिक तनाव सहनुपरेको उनीहरूको गुनासो छ। आफूहरूले पनि संकलित रकम र सामानको कुनै हिसाब पाउन नसकेको उनीहरूले बताएका छन्।

यसैबीच, पीडित सेवाग्राही र बजार प्रतिनिधिहरूले आफूहरूबाट संकलन गरिएको रकम फिर्ता गराइदिन तथा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा सामूहिक उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको वास्तविक अवस्था, पीडितको संख्या र आर्थिक क्षतिको यकिन विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित