📍 वीरगंज, पर्सा | 🗓️ वैशाख २४, २०८३
वीरगंज महानगरपालिका–२३ स्थित एक उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको भीषण विस्फोटमा परी बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चनरजित राउत अहिर गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार सन तारा इलेक्ट्रिक प्रालिमा कार्यरत अहिर एभरेस्ट छाला कम्पनीमा विद्युत सम्बन्धी काम गरिरहेका बेला अचानक ट्रान्सफर्मर विस्फोट भएको थियो। विस्फोट अत्यन्त शक्तिशाली भएका कारण उनको शरीरको अधिकांश भाग जलेको बताइएको छ। घटनापछि उनलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल पठाइएको परिवारले जनाएको छ।
हाल वीर अस्पतालमा उनको उपचार जारी रहे पनि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा गम्भीर समस्या भइरहेको परिवारजनको भनाइ छ। दैनिक महँगो उपचार, औषधि तथा अस्पताल खर्च व्यवस्थापन गर्न कठिन भइरहेको भन्दै परिवारले सहयोगको अपिल समेत गरेका छन्।
पीडित परिवारले सम्बन्धित कम्पनी तथा जिम्मेवार पक्षले उपचारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। तर कम्पनी पक्षले हालसम्म स्पष्ट रूपमा जिम्मेवारी स्वीकार नगरेको आरोप परिवारले लगाएको छ।
स्थानीयवासी तथा मजदुर अधिकारकर्मीहरूले उद्योग क्षेत्रमा काम गर्ने श्रमिकको सुरक्षामा गम्भीर लापरवाही भइरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले जोखिमपूर्ण कार्यस्थलमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यस घटनाले उद्योग क्षेत्रमा कार्यरत मजदुरहरूको सुरक्षा अवस्था तथा दुर्घटनापछि उपचार र क्षतिपूर्ति व्यवस्थाको विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ।







Discussion about this post