वीरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुदिन अन्सारी माथि किर्ते जालसाजी गरेको गम्भीर आरोप, राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पत्ति संरक्षण मञ्च द्वारा उच्च स्तरीय छानबिनको माग गरेका छन्।

वीरगंज २५ वैशाख । नेपाल मुस्लिम वेलफेयर सोसाइटीको नाममा स्वीकृत वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल किर्ते, जालसाजी तथा प्रभावको दुरुपयोग गरी निजीकरण गरिएको भन्दै राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पत्ति संरक्षण मञ्चले स्वामित्व र सञ्चालन प्रक्रियाबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष जाफर अन्सारी र महासचिव मंजुरून हक मियाले शक्ति केन्द्रको आडमा विगत दुई दशक देखि सोसाईटीको सम्पत्तिलाई मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अंसारीले एकलौटी बनाएको भन्दै गम्भिर आपत्ति जनाउदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस कलेज माथि किर्ते, जालसाजी र राजस्व छली जस्ता गम्भीर मुद्दाहरू उठाएर मञ्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग लगायतका निकायलाई अनुसन्धान गरी दोषी माथि कानुनी कारबाहीको माग समेत गरेको छ ।

मञ्चका अध्यक्ष जाफर अन्सारी र महासचिव मंजुरूल हक मियाद्वारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा वि.सं. २०५३ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको ‘नेपाल मुस्लिम वेलफेयर सोसाइटी’को नाममा यो कलेज स्थापना गर्ने प्रक्रिया अघि बढाइएको थियो भनि उल्लेख छ ।

मुस्लिम समुदाय र आर्थिक रूपमा पिछडिएका वर्गलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउने पवित्र उद्देश्यले स्थापना भएको संस्थालाई तत्कालीन महासचिव डा. जैनुद्दीन अन्सारीले प्रशासनिक पहुँच र किर्ते कागजातको बलमा निजी कम्पनीमा रूपान्तरण गरेको विज्ञप्ति मार्फत आरोप लगाइएको छ । “जुन संस्था मुस्लिम समुदायको हितका लागि स्थापना भएको थियो, त्यसलाई व्यक्तिको निजी सम्पत्ति बनाइनु सार्वजनिक सम्पत्तिको चरम दोहन हो,” विज्ञप्तिमा उल्लेख छ ।

मञ्चले कलेज निजीकरण गर्ने प्रक्रियाविरुद्ध विगतमा परेका मुद्दाहरूमा पनि आर्थिक र राजनीतिक प्रभावका कारण न्याय प्रभावित भएको आशंका व्यक्त गर्दै अब पुनः न्यायको लागि अदालतको ढोका ढकढक्याउने मञ्चका अध्यक्ष अन्सारीले पत्रकार सम्मेलनमा बताए ।

काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनबाट भएका फैसलाहरू न्यायोचित नभएको भन्दै मुस्लिम समुदायले विगत दुई दशक देखि निरन्तर आन्दोलन, संघर्ष, पत्रकार सम्मेलन, ज्ञापन पत्र तथा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएकोमा राजनीतिक, आर्थिक तथा प्रशासनिक प्रभावका कारण वास्तविकता दबाउने प्रयास भएकोमा मञ्चका अध्यक्ष अंसारीले दुःखेसो पोखे ।

सो पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष अंसारीले स्वामित्वको विवाद बाहेक कलेज सञ्चालनका क्रममा भएका आर्थिक गतिविधिहरूमा पनि गम्भीर अनियमितता भएको आरोप लगाउदै मेडिकल उपकरणहरूको आयातमा राजस्व छली, आन्तरिक कर विवरणमा पारदर्शिता नरहेको र डा. जैनुद्दीन अन्सारीको परिवारको नाममा रहेका सम्पत्तिहरूको स्रोत शंकास्पद रहेकोमा नियमनकारी निकायबाट छानबिन गरी दोषीमाथि कडा कारवाहीको माग समेत गरे ।

यो मुद्दा कुनै व्यक्ति विशेषको विरुद्ध मात्र नभई विधिको शासन र सामाजिक न्यायको पक्षमा भएको भन्दै मञ्चका अध्यक्ष अंसारीले नागरिक समाज, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूलाई यस भ्रष्टाचार र अनियमितता विरुद्ध सहयोगको अपिल गर्दै सरकारलाई तुरुन्त एक उच्चस्तरीय छानबिन समिति गठन गर्न आग्रह गरेका थिए ।

सो पत्रकार सम्मेलनमा नेपाल मुस्लिम वेलफेयर सोसाईटीको नाममा स्वीकृत भएको यस कलेजलाई पुनः सोसाईटीकै नाममा ल्याउन सम्पूर्ण निकाय सँग सहयोगको अपिल समेत गरिएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित