सडक विस्तारको विरोधमा विरगञ्जको घर-धनीहरूको मानव साङ्लो विकासको नाममा विनाश नगर्न चेतावनी:- त्रिभुवन राजपथलाई ‘शहरी मार्ग’ कायम वीरगन्जको घर धनीहरुको गर्न माग

वीरगञ्ज-२४

त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने स्थानीय प्रशासन र सडक विभागको तयारीविरुद्ध घरधनीहरू आन्दोलित भएका छन् । बिहीबार मुख्य सडकका बासिन्दा तथा घरधनीहरूले ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै सडकमा मानवसाङ्लो निर्माण गरि विरोध प्रदर्शन गरेका हुन् ।

गण्डकदेखि मितेरी पुलसम्मको व्यापारिक हबका रूपमा रहेको मुख्य सडकका घरधनीहरूले विकासको नाममा आफ्नो उठीबास लगाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले हातमा हात मिलाएर मानवसाङ्लो बनाउँदै सडकको दुवैतर्फ प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले ‘हामी विकास र विस्तार चाहन्छौँ तर वैकल्पिक उपाय खोजौँ’, ‘विकासको नाममा विनाश गर्न पाइँदैन र ‘वीरगञ्जको मेनरोडलाई शहरी मार्ग कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै स्थानीय घरधनीहरूले दशकौँ पुराना र कानुनी प्रक्रिया पुर्‍याएर निर्माण गरिएका घरहरू भत्काउँदा वीरगञ्जको अर्थतन्त्र र इतिहास नै समाप्त हुने दाबी गरे । उनीहरूले त्रिभुवन राजपथको वैकल्पिक मार्ग (बाइपास रोड) यसअघि नै सञ्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रको सडकलाई विस्तार नगरी ‘सहरी मार्ग’ (अर्बन रोड) का रूपमा विकसित गर्नुपर्ने माग राखेका छन् ।

“हामी विकासको विरोधी होइनौँ, तर हजारौँ परिवारलाई सुकुम्बासी बनाएर गरिने विस्तार न्यायसंगत छैन,” पूर्वमेयर विजय सरावगीले भने, “सरकारले वैज्ञानिक अध्ययन गरेर मुआब्जा र विकल्पको बारेमा सोच्नुपर्छ, बिना योजना डोजर चलाउनु हुँदैन।”

मुख्य सडक विस्तारको चर्चाले वीरगञ्जको प्रमुख व्यापारिक क्षेत्रमा सन्त्रास फैलिएको छ। स्थानीय प्रशासनले भने सडक सीमाभित्र रहेका संरचनाहरू हटाउन सूचना जारी गरिसकेको छ ।

यता, घरधनीहरूले भने आफ्नो माग पूरा नभएसम्म र उपयुक्त विकल्प नआएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । यस प्रदर्शनले वीरगञ्जको सडक विस्तार योजना र स्थानीयको सम्पत्तिको हकबीचको टकरावलाई थप सतहमा ल्याइदिएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित