देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि सुरु भएको छ। परीक्षा सुरु भएसँगै उत्तरपुस्तिका परीक्षण कार्य पनि आजैदेखि सुरु गरिने भएको छ भने वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेका छन्। परीक्षाका लागि देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सुरक्षाकर्मी गरी करिब ७३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
यसैगरी पर्सा जिल्लाबाट यस वर्ष एसईई परीक्षामा १० हजार ७०३ विद्यार्थी सहभागी भएका छन्। जिल्लाका १५३ विद्यालयमध्ये ७० सामुदायिक र ८३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका हुन्। परीक्षाका लागि पर्सामा २७ परीक्षा केन्द्र तोकिएको छ, जसमा १४ ग्रामीण र १३ सहरी क्षेत्रमा रहेका छन्।
परीक्षा व्यवस्थापनका लागि जिल्लामा १ हजार ३०४ जना जनशक्ति परिचालन गरिएको छ। जसअन्तर्गत केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।







Discussion about this post