बालेन्द्र शाहले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा शाहलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन्।
संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताका रूपमा शाह प्रधानमन्त्री नियुक्त भएका हुन्। संविधान २०७२ जारी भएपछि उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक भएको जनाइएको छ। साथै मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका शाह झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुँदै पहिलोपटक संसद् प्रवेश गरेका थिए। उनले सोही क्षेत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राख्दै १६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री र खड्कराज पौडेल पर्यटन मन्त्री बनेका छन्।
त्यसैगरी सस्मित पोखरेल शिक्षा तथा युवा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, दीपक साह श्रम मन्त्री, सोविता गौतम कानुन मन्त्री, गीता चौधरी कृषि तथा वन मन्त्री र सीता वादी महिला, बालबालिका मन्त्री बनेका छन्। नयाँ सरकारले अब प्रशासन सुधार, सुशासन र आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।







Discussion about this post