नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने भएको छ। शपथ कार्यक्रमका लागि सबै तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि केसीलाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराइसक्नुभएको छ।
सचिवालयका अनुसार ४७ जना सांसदले नेपालीबाहेक अन्य भाषामा शपथ लिने तयारी गरेका छन्, जसमा १७ जनाले मैथिली भाषामा शपथ लिनेछन्। संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम सांसदहरूले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्।
सांसदहरूलाई आवश्यक कागजातसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ। साथै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोसाकमा उपस्थित हुन पनि आग्रह गरिएको छ।







Discussion about this post