महोत्तरीका इँटा उद्योगीहरू बेमौसमी वर्षापछि ठूलो आर्थिक संकटमा परेका छन्। गत शुक्रबारदेखि आइतबारसम्म परेको वर्षाले पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा नष्ट हुँदा उद्योगीहरूको मेहनत र करोडौँ लगानी बर्बाद भएको उद्योगीहरूले बताएका छन्।
इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष सञ्जय चौधरी का अनुसार जिल्लाभित्रका करिब तीन दर्जन इँटा उद्योगमा वर्षाले ६ करोड रुपैयाँभन्दा बढी क्षति पुऱ्याएको छ। माघ, फागुन र चैत महिनामा इँटा उत्पादनको लागि अनुकूल मौसम हुने भएकाले उद्योगीहरूले ठूलो परिमाणमा इँटा सुकाइराखेका थिए, तर अचानक परेको वर्षाले सम्पूर्ण तयारी ध्वस्त भएको छ।
औरही नगरपालिका–२ का न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादव ले वर्षाले इँटा पगाल्दा आर्थिक संकटको सामना गर्नु परेको बताए। यस्तै, औरही–७ का न्यु मिथिला इँटा उद्योगका रामबाबु चौधरी ले आकस्मिक वर्षाले मेहनत र लगानी दुबै नष्ट भएको गुनासो गरेका छन्।
प्रारम्भिक विवरणअनुसार उद्योगीहरूलाई न्यूनतम ८ लाखदेखि अधिकतम २२ लाख रुपैयाँसम्म क्षति भएको छ। प्रभावित उद्योगीहरूले सरकारले प्राकृतिक विपत्तिमा राहत र सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।







Discussion about this post