वीरगंजस्थित कृषि औजार कारखानामा उत्पादन हुने कृषि उपकरणहरूको बिक्री क्रमशः बढ्दै गएको छ। राष्ट्रिय अविष्कार केन्द्र अन्तर्गत महावीर पुन को नेतृत्वमा सञ्चालित कारखानाले चालु आर्थिक वर्षको ९ महिनामा १७ लाख रुपैयाँ बराबरका औजार बिक्री गरेको जनाएको छ।
कारखानाका इन्जिनियर रितेश देव का अनुसार आर्थिक वर्षको अन्त्यसम्म ५० लाख रुपैयाँ बराबरका औजार बिक्री गर्ने लक्ष्य राखिएको छ। हाल कारखानाले मकै, धान, गहुँ, उखु र आलु रोप्ने तथा गोड्ने मेसिन, काट्ने औजार, हाते ट्याक्टरको ट्रली र केराको रेशाबाट फाइबर बनाउने मेसिन उत्पादन गर्दै आएको छ।
२०५९ सालदेखि बन्द रहेको कारखाना २०७९ कात्तिकमा नेपाल सरकारसँग सम्झौता गरी पुनः सञ्चालनमा ल्याइएको हो। कारखानामा प्राविधिकसहित ४५ जना कर्मचारी कार्यरत छन्। कच्चा पदार्थ अभाव र फलामको मूल्यवृद्धिका कारण केही समस्या भए पनि उत्पादन र बिक्री क्रम बढ्दै गएको कारखानाले जनाएको छ।
कारखाना सञ्चालनमा आएको अवलोकन गर्न पछिल्लो समय विभिन्न जिल्लाबाट सर्वसाधारणसमेत आउने गरेका छन्।







Discussion about this post