प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन वर्षाको कारण दुबै खेल रद्द भएको छ।
वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा कर्णाली र लुम्बिनी तथा जनकपुरधामस्थित रामजानकी रंगशालामा मधेस र कोशीबीचको खेल वर्षाले प्रभावित भएर स्थगित गरिएको हो। खेल रद्द भएपछि चार टोलीले १–१ अंक बाँडेका छन्।
वीरगंजमा सुरु भएको खेलमा कर्णालीले सात ओभरमा २० रन बनाएको थियो। ओपनर रवीन्द्र शाहीले ९ र सुनिल धमलाले ७ रन जोडेका थिए। लुम्बिनीका बलर सन्देश थापाले चार ओभरमा १२ रन खर्चेका थिए भने राजेन्द्र बमले तीन ओभरमा एक मेडनसहित ८ रन दिएका थिए। मधेस र कोशीको खेल टस नहुँदै वर्षाले रद्द भएको हो।
प्रतियोगिता मधेस प्रदेशका दुई रंगशाला र काठमाडौंको तल्लो तथा माथिल्लो मुलपानी मैदान गरी चार स्थानमा आयोजना भइरहेको छ। फाइनलसहित १९ खेल वीरगंजमा, १७ खेल जनकपुरमा र बाँकी १० खेल तल्लो–माथिल्लो मुलपानीमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ। विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। नेपाल पुलिस क्लब यस प्रतियोगिताको साविक विजेता टोली हो।







Discussion about this post