प्रि–मनसुन सक्रिय भएसँगै आज र भोलि देशका विभिन्न भागमा वर्षा, हिमपात र तीव्र हावाहुरीको जोखिम बढेको छ। मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ। त्यस्तै लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्जसहित तराईका जिल्लामा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ।
पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपास भोलिसम्म ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चल्न सक्ने चेतावनी दिइएको छ। यसले रुख ढाल्ने, घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवामा अवरोध ल्याउने जोखिम रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, ग्यास तथा अन्य इन्धन बन्द गर्न र जोखिमयुक्त स्थानबाट टाढा रहन अनुरोध गरेको छ। साथै विद्युतीय उपकरण प्रयोग नगर्न र लत्रिएका तार नछुन पनि आग्रह गरिएको छ।
महाशाखाले प्रि–मनसुनको समयमा दिउँसोपछि अचानक मौसम बिग्रिन सक्ने भएकाले नियमित रूपमा मौसम पूर्वानुमानको जानकारी लिन र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।







Discussion about this post