प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई चैत १२ गते शपथ गराउने तयारी संसद् सचिवालयले अघि बढाएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १६५ प्रत्यक्ष र १२५ समानुपातिक सांसदले सो दिन शपथ लिने व्यवस्था बनाइएको छ।
संसद् सचिवालयका अनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेपछि सांसदहरूको नामावली उपलब्ध हुनेछ। त्यसपछि शपथ कार्यक्रममा सहभागी हुन सबैलाई ७ दिने सूचना पठाइनेछ र राष्ट्रपतिसँग शपथसम्बन्धी समय तालिका समन्वय गरिनेछ।
कानुनअनुसार सबैभन्दा ज्येष्ठ सदस्यलाई पहिले शपथ गराइन्छ। यसपटक नेपाली कांग्रेसका ७८ वर्षीय अर्जुन नरसिंह केसी ज्येष्ठ सदस्य भएकाले उनलाई सभामुखको जिम्मेवारीसहित प्रारम्भिक शपथ कार्यक्रम अघि बढाइनेछ।
शपथ समारोह पूरा भएपछि राजनीतिक दलहरूले आफ्नो संसदीय दलको नेता चयन गर्नेछन् र त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ। संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठक चैत १५ गते बोलाउने तयारी समेत गरेको जनाएको छ।







Discussion about this post