पर्सा जिल्लामा फागुन महिनामा ४८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार तीमध्ये सबैभन्दा धेरै घटना वीरगंज महानगरपालिकामा भएका छन्।
प्रहरीका अनुसार एक महिनामा वीरगंज महानगरपालिकामा मात्रै ३९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। विन्दवासिनी गाउँपालिकामा दुई वटा घटना भएको छ भने अन्य केही पालिकामा एक–एक वटा मात्र घटना भएको विवरणमा उल्लेख छ।
यस्तै पोखरिया नगरपालिकासहित ठोरी, धोबनी, पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा भने फागुन महिनाभर कुनै पनि घरेलु हिंसाका घटना दर्ता भएका छैनन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार पछिल्लो समय प्रहरीप्रति विश्वास बढ्दै जाँदा यस्ता घटनाको उजुरी दिने क्रम पनि बढेको छ। उनका अनुसार पहिले पनि घटना हुने गरे पनि धेरैजसो उजुरी बाहिर नआउँदा संख्या कम देखिने गरेको थियो।
घरेलु हिंसा नियन्त्रणका लागि प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै पीडकलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने नीति अपनाएको जनाएको छ।







Discussion about this post