पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाबारे राष्ट्रिय दलित आयोग को टोलीले स्थलगत अध्ययन गरेको छ। आयोगका सदस्य सुन्दर पुर्कुटी को नेतृत्वमा आएको टोलीले आइतबार घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरी घटनाको विवरण संकलन गरेको हो।
फागुन २४ गते साँझ महुवन बजार क्षेत्रमा भएको कुटपिट घटनामा स्थानीय मालती देवी राम र उनका ७ वर्षीय भतिज बब्लु कुमार राम घाइते भएका थिए। बब्लुको बायाँ हात भाँचिएको छ भने मालती देवीको टाउकोमा चोट लागेर तीन वटा टाँका लगाइएको जनाइएको छ।
टोलीले घटनाबारे जानकारी लिन सखुवाप्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष असेश्वर प्रसाद यादवसँग समेत छलफल गरेको थियो। आयोगले घटनाको वास्तविकता पत्ता लगाई पीडितलाई न्याय दिलाउन आवश्यक पहल गर्ने जनाएको छ।
आयोगका सदस्य पुर्कुटीले जातीय आधारमा हुने हिंसा कानुनी अपराध भएको उल्लेख गर्दै दलित समुदायमाथि हुने यस्ता घटनाप्रति कडा रूपमा प्रस्तुत हुने बताएका छन्। यस क्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, दलित अगुवा मानदेव हजरा र सुरेन्द्र पासवान लगायतको उपस्थिति रहेको थियो।







Discussion about this post