बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित मानवत–मटिअर्वा–पिलुवा सडक खण्डमा रहेको एक पसलमा गएराति चोरी भएको छ।
रामपुकार गुप्ता (सागर) द्वारा सञ्चालन गरिएको किताब, कपी तथा मनि ट्रान्सफर पसलको सटरको ताल्चा काटेर मध्यरातमा चोरी गरिएको हो। पसल सञ्चालकका अनुसार चोरीमा करिब डेढ लाख रुपैयाँ नगद लगिएको छ।
स्थानीयले पछिल्लो समय मटिअर्वा क्षेत्रमा चोरीका घटना बढ्दै गएको बताएका छन्। करिब डेढ वर्षअघि यही स्थानमा रहेको सुनचाँदी पसलमा पनि चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी भएको घटना समेत भएको थियो।
चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वा रहेको छ भने करिब ५०० मिटरको दूरीमा प्रहरी चौकी पनि रहेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान अघि बढाएको जनाएको छ।







Discussion about this post