सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ हिजो राजपत्रमा प्रकाशित भएको हो।
आदेशअनुसार नेपाल आयल निगमले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, पराल, मकैको ढोड र सिमल–तरुल जस्ता कच्चापदार्थ प्रयोग गर्न पाइनेछ, तर खानयोग्य अन्नको दुरुपयोग रोक्न खाद्यान्न प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
उद्योगहरूले उत्पादन गरेको इथानोल केवल नेपाल आयल निगमलाई बिक्री गर्नुपर्नेछ र गुणस्तर मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ। मूल्य निर्धारण हरेक आर्थिक वर्षको सुरुवातमा सरकारी सिफारिस समितिको सुझाव अनुसार तय गरिने र साउन १ गतेदेखि लागू गरिने छ।
सरकारको लक्ष्य कृषि अवशेष र जैविक स्रोतको उपयोग बढाउने, स्वदेशी उद्योग प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र ऊर्जा क्षेत्रमा आयात निर्भरता घटाउने रहेको छ।







Discussion about this post