जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै सर्वसाधारणलाई अनावश्यक रूपमा जगेडा (भण्डारण) नगर्न आग्रह गरेको छ।
बुधबार पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ग्यास तथा पेट्रोलियम पदार्थको अभाव र उपभोक्ता हितविपरीतका गतिविधि नियन्त्रण तथा न्यूनीकरणका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।
बैठकमा नेपाल आयल निगम, ग्यास विक्रेता संघ तथा उद्योगहरूले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा ग्यास, डिजेल र पेट्रोलको मौज्दात पर्याप्त रहेको तथा आयात पनि नियमित भइरहेको जानकारी गराइएको थियो। त्यसका आधारमा हाल जिल्लामा कुनै अभाव नरहेको र निकट भविष्यमा पनि अभाव हुने सम्भावना नदेखिएको निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ।
बैठकले ग्यास, डिजेल र पेट्रोलको अनावश्यक जम्माखोरी नगर्न तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ। साथै डिजेल र पेट्रोलको ग्यालेन वा ड्रममार्फत खुला बिक्री वितरण नगर्न पनि निर्णय गरिएको छ।
त्यस्तै ग्यास डिलरहरूले बिक्री गरेका उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको विवरण दैनिक रूपमा ग्यास उद्योगमा उपलब्ध गराउने तथा उद्योगहरूले डिलरलाई बिक्री गरेको ग्यास सिलिण्डरको विवरण जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज र नेपाल आयल निगम शाखामा इमेलमार्फत पठाउने व्यवस्था गरिएको छ।
बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सुनिल चौरसिया, नेपाल आयल निगमका मोहन कुमार सिंह, वीरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास तथा उपभोक्ता मञ्च नेपालका दिना गुप्ता लगायतको उपस्थिति रहेको थियो।







Discussion about this post