मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मो. लालबाबु राउत गद्दी बस्ने वडामै जनता समाजवादी पार्टी (जसपा) नेपालले अत्यन्त कम मत पाएको तथ्य सार्वजनिक भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल मुर्लीमा जसपा नेपालको चुनाव चिह्न ‘छाता’ले जम्मा ३९ मत मात्र प्राप्त गरेको हो।
पर्साका चारै निर्वाचन क्षेत्र जित्ने दाबी गर्दै आएको जसपा नेपालका लागि यो परिणाम अप्रत्याशित मानिएको छ। गद्दीसँगै पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको पनि जमानत जफत भएको छ, जसले पार्टी नेतृत्वको जनाधारबारे प्रश्न उठाएको चर्चा भइरहेको छ।
यादव बस्ने वीरगञ्ज महानगरपालिका–२८ मा समेत जसपा नेपालको अवस्था कमजोर देखिएको छ। उक्त वडामा ‘छाता’ चुनाव चिह्नले २५ मत मात्र प्राप्त गरेको बताइएको छ।
पार्टीभित्रका केही नेताहरूले गद्दीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोप र जिल्ला अध्यक्ष यादवको नेतृत्वलाई लिएर संगठन कमजोर बनेको टिप्पणी गरेका छन्। एक समय पर्सामा प्रभावशाली मानिएको जसपा नेपालको संगठन अहिले कमजोर अवस्थामा पुगेको उनीहरूको भनाइ छ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढिरहेका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको आधार खस्किँदै गएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। निर्वाचन परिणामले पर्सामा पार्टी नेतृत्वको वास्तविक जनाधार कस्तो रहेको छ भन्ने विषय थप प्रष्ट भएको टिप्पणीसमेत हुन थालेको छ।







Discussion about this post