फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण देखिनेछ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदयपछि खण्डग्रासका रूपमा देखिनेछ। बेलुका ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै ग्रस्तोदित अवस्थामै उदय हुने र ७ बजेर ४ मिनेटमा ग्रहण समाप्त हुनेछ।
नेपालबाट झन्डै एक घण्टा चन्द्रग्रहण अवलोकन गर्न सकिने जनाइएको छ। खगोलविद्का अनुसार चन्द्रग्रहण हेर्न विशेष उपकरण आवश्यक पर्दैन र यसले आँखामा असर गर्दैन, खुला स्थानबाट नाङ्गो आँखाले नै हेर्न सकिन्छ।
यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो। यसअघि गएको भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो।
चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने शास्त्रीय मान्यता छ। ग्रहणका बेला जप, स्नान, ध्यान र पाठलगायत धार्मिक कर्म गर्ने परम्परा रहँदै आएको छ।
आज बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन नगर्नु पर्ने मान्यता रहे पनि बालबालिका, रोगी, अशक्त र वृद्धवृद्धाका हकमा यो नियम अनिवार्य नहुने जनाइएको छ। यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिनेछ।







Discussion about this post