पर्सा क्षेत्र–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रप्रति स्थानीय मतदाताले कडा प्रतिक्रिया जनाएका छन्। क्षेत्रभित्र १ खर्ब रुपैयाँ बराबरको उद्योग भित्र्याउने र प्रदूषित सिरिसिया नदी सफा गर्ने घोषणापछि मतदाताबीच विश्वास र व्यवहारको प्रश्न उठेको हो।
रुंगटाले औद्योगिक विस्तारमार्फत रोजगारी सिर्जना, युवालाई स्वदेशमै अवसर र वातावरणीय सुधारको प्रतिबद्धता जनाए पनि स्थानीयले यसलाई व्यवहारविपरीत दाबी गरेका छन्। जगदम्बा इन्टरप्राइजेज उद्योग निर्माणका क्रममा वीरगञ्ज महानगरपालिका–३२ परसवाका स्थानीयलाई रोजगारी दिने आश्वासन दिइए पनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार उद्योग सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि रोजगारी नपाएको गुनासो छ। परसवाकी उमादेवीले उद्योग बनाउँदा गरिएको आश्वासन कागजमै सीमित भएको बताइन्। स्थानीय युवाहरूले भने उम्मेदवारकै उद्योगमा विदेशी कामदार धेरै र नेपाली युवा रोजगारीबाट वञ्चित भएको आरोप लगाएका छन्।
सिरिसिया नदी सफाइको प्रतिबद्धताप्रति पनि स्थानीयले शंका व्यक्त गरेका छन्। वर्षौंदेखि औद्योगिक प्रदूषणबाट प्रभावित नदी सफा गर्ने वाचा पटक–पटक दोहोरिए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
चुनावी माहोल तात्दै जाँदा प्रतिबद्धता पत्रले पर्सा–१ मा बहस चर्काएको छ। मतदाताले अब नाराभन्दा परिणाम खोज्ने स्पष्ट संकेत दिएका छन्। – साभारः मिसन खोज







Discussion about this post