पर्सामा एमालेमा व्यापक पार्टी परित्याग, नेतृत्वमाथि असन्तुष्टि चुलिँदै

पर्सा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट नेता–कार्यकर्ताको व्यापक पार्टी परित्याग सुरु भएको छ।

लामो समयदेखि संगठन निर्माणमा सक्रिय व्यक्तिहरू एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि जिल्ला तहमा नेतृत्व संकट गहिरिँदै गएको छ।

पार्टीभित्र बढ्दो असन्तुष्टिको मुख्य जिम्मेवारी केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन संयोजक प्रभु हजारा र जिल्ला अध्यक्ष विश्वम्भर शर्मामाथि रहेको भन्दै असन्तुष्ट पक्ष खुलेर आलोचनामा उत्रिएका छन्। उनीहरूमाथि गुटगत राजनीति, एकलौटी निर्णय र कार्यकर्ताको भावना बेवास्ता गरेको आरोप लगाइएको छ।

यसैबीच एमाले महाधिवेशन प्रतिनिधि बश्रुदिन अन्सारीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी स्रोतका अनुसार पूर्व मधेस प्रदेश कमिटी सदस्य संजिव मिश्रा पनि एमाले छाड्ने तयारीमा छन्। पकाहाँ मैनपुर गाउँपालिका–५ का वडा कमिटी अध्यक्ष रामबाबु चौसरीयासहित सम्पूर्ण वडा कमिटी नै एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छ।

त्यस्तै, एमालेबाट वीरगञ्ज महानगर–२० का वडा अध्यक्ष निर्वाचित रामकिशोर सिंह ‘पराग’ ले पार्टी छाड्दै उज्यालो नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। पूर्व मधेस प्रदेश कमिटी सदस्य एवं महाधिवेशन प्रतिनिधि रञ्जु फुयालले पनि एमाले त्याग्दै कांग्रेस प्रवेश गरेकी छन्।

यसका साथै पकाहाँमैनपुर गाउँपालिका कमिटी सदस्य मदन सोनी, जगरनाथपुर गाउँपालिका कमिटी सचिव मनोज केवट, मधेस प्रदेश कमिटी सदस्य रामबाबु सिंह तथा पोखरीया नगर कमिटी सदस्य सन्तोष चौहानले पनि एमाले परित्याग गरी रास्वपा रोजेका छन्। युवा नेता देव शराफ, जिल्ला कमिटी सचिवालय सदस्य इमरान हुसैन, वीरगञ्ज महानगर–२३ का वडा कमिटी सचिव रियाज अन्सारीलगायत दर्जनौँ युवाहरू अन्य दलमा गएका कारण संगठन कमजोर बन्दै गएको चर्चा छ।

पार्टी परित्याग गर्ने अधिकांश नेताहरूले पर्सामा एमालेले सक्षम नेतृत्व र योग्य उम्मेदवार दिन नसकेको आरोप लगाएका छन्। उनीहरूका अनुसार नेतृत्व सीमित घेराभित्र केन्द्रित हुँदा इमानदार कार्यकर्ता उपेक्षित भएका छन्।

लगातारको पार्टी परित्यागले पर्सामा एमालेको चुनावी अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ। नेतृत्वप्रतिको असन्तोषले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित