वीरगंजमा जारी कर्फ्यू आदेशको स्थानीयस्तरमा चौतर्फी आलोचना सुरु भएको छ। वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा भएको घटनालाई आधार बनाएर अकस्मात् सम्पूर्ण बजार क्षेत्र बन्द गरिएपछि असन्तुष्टि चुलिएको हो ।
निर्वाचन र विवाहको लगन चलिरहेको समयमा कर्फ्यू लागू गर्नु अव्यावहारिक भएको भन्दै स्थानीयहरूले एउटै वडाको घटनाका कारण पूरै शहर ठप्प पार्नु उचित नभएको गुनासो गरेका छन्। यस कदमले प्रशासन र सुरक्षा संयन्त्र असफल भएको आरोप समेत लागेको छ।
सामाजिक कार्यकर्ता जय साहले सानो विवाद नियन्त्रण गर्न नसक्दा पूरै वीरगंजमा कर्फ्यू लगाइनु प्रशासनिक असक्षमताको परिणाम भएको टिप्पणी गरेका छन्। उनले वीरगंज मधेशको आर्थिक मेरुदण्ड भएकाले शहर बन्द होइन, सुरक्षा व्यवस्था मजबुत बनाइनुपर्ने माग अघि सारेका छन्।
युवा महादेव कुर्मी र कृष्णा कुमारले पनि केही व्यक्तिका कारण पूरै शहरलाई ‘बन्धक’ बनाउनु गलत भएको भन्दै कर्फ्यू नागरिकमैत्री नभएको बताएका छन्।
आइतबार साँझ दुई समुदायबीच झडपपछि केही घाइते र पक्राउ परेका थिए भने सोमबार बिहान ९:४५ बजेदेखि कर्फ्यू लागू भएपछि स्थानीय आक्रोशित बनेका हुन्।
पर्साका प्रमुख जिल्ला अधिकारि भोला दाहाल थप तनाव बढ्न नदिनको लागी कर्फ्यु आदेश गरिएको प्रतिक्रिया दिएका छन ।







Discussion about this post