वीरगंज महानगरपालिका पछिल्ला दिनहरूमा मच्छरको आतंकले ग्रसित बनेको छ। बिहान र साँझ मात्र होइन, दिनभरि नै मच्छरले सताउन थालेपछि सर्वसाधारणको दैनिकी अस्तव्यस्त भएको छ। तर, जनस्वास्थ्य जोगाउने दायित्व बोकेको महानगरपालिका भने प्रभावकारी रूपमा निष्क्रिय देखिएको छ।
स्थानीयवासीहरूका अनुसार टोल–टोलमा नियमित औषधि छर्किने काम हुन सकेको छैन। कहिलेकाहीँ देखावटी रूपमा छरिने औषधिले मच्छर नियन्त्रण गर्नु त परै जाओस्, झन् बढेको अनुभूति भइरहेको छ। खुला ढल, फोहोर पानी जमेका स्थान र अव्यवस्थित सरसफाइतर्फ महानगरले आँखा चिम्लिएको आरोप स्थानीयको छ।
यही बीच महानगर प्रमुख राजेशमान सिंह जनस्वास्थ्यजस्ता गम्भीर विषय छोडेर राजनीतिक गतिविधिमा व्यस्त रहेको आरोपसमेत खुलेआम उठ्न थालेको छ। स्थानीयहरू भन्छन्—जनताको स्वास्थ्य संकटमा पर्दा महानगर नेतृत्वको प्राथमिकता गलत दिशामा छ।
चिकित्सकहरूले मच्छरको बढ्दो प्रकोपले डेंगु, मलेरिया र चिकनगुनियाजस्ता रोग फैलिन सक्ने स्पष्ट चेतावनी दिइसकेका छन्। तर, महानगरको तयारी र सक्रियता हेर्दा सम्भावित स्वास्थ्य संकटलाई गम्भीर रूपमा लिइएको देखिँदैन।
महानगरपालिकाले औषधि छर्किएको र सरसफाइ गरिएको दाबी गरे पनि त्यसको प्रभाव जमिनमा देखिएको छैन। त्यसैले स्थानीयवासीहरूले नियमित र गुणस्तरीय फगिङ, कडा अनुगमन, ढल व्यवस्थापन र जनचेतना अभियान तत्काल सुरु गर्न माग गरेका छन्।
समयमै ठोस कदम नचालिए वीरगन्ज मच्छरजन्य रोगको केन्द्र बन्ने खतरा बढ्दै गएको छ। जनस्वास्थ्य राजनीतिक प्राथमिकताभन्दा माथि राख्न नसके महानगरको बेवास्ताले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने चेतावनी अहिले सर्वत्र सुनिन थालेको छ।







Discussion about this post