पर्सा जिल्लाको राजनीतिक वृत्तमा नयाँ सरगर्मी देखिएको छ। नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य एमडी बसिरुद्दिन अन्सारी नेपाली कांग्रेस प्रवेशको तयारीमा रहेको विश्वसनीय स्रोतले जनाएको छ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रदेश कमिटी सदस्य अन्सारी लामो समयदेखि एमालेको संगठनमा सक्रिय रहँदै आएका नेता हुन्। स्रोतका अनुसार विगतका निर्वाचनमा पटक–पटक टिकटको आश्वासन पाए पनि अन्तिम समयमा अन्य दलबाट आएका नेताहरूलाई प्राथमिकता दिइएपछि उनी असन्तुष्ट बनेका हुन्। यही असन्तुष्टिकै कारण पार्टी परित्याग गरी कांग्रेस प्रवेशको तयारी अघि बढाएको बताइएको छ।
अन्सारीले औपचारिक घोषणा नगरे पनि आफ्ना निकट कार्यकर्ता र समर्थकसँग छलफल तीव्र पारेका छन्। उनका निकटवर्तीहरूले पार्टीभित्र योगदानको उचित कदर नभएको गुनासो सार्वजनिक रूपमा व्यक्त गरेका छन्।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार अन्सारीको सम्भावित दल परिवर्तनले पर्सा–१ को राजनीतिक समीकरणमा असर पार्न सक्छ। यसले मधेश प्रदेशमा एमालेको संगठनात्मक अवस्थासहित आगामी निर्वाचन रणनीतिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।
यस विषयमा एमाले पर्सा नेतृत्वले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। अन्सारीको कांग्रेस प्रवेशसम्बन्धी मिति र कार्यक्रम चाँडै सार्वजनिक हुने बताइएको छ।







Discussion about this post