पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको उम्मेदवार रुपेश कुमार पाण्डे कर्जा सूचना केन्द्रको कालोसूचिमा रहेका व्यक्ति हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) अनुसार कालोसूचिमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य ठहर हुन्छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक सूचीमा समावेश २१ जनाको नाम यसअघि हटाइएको थियो। तर प्रत्यक्षतर्फ पाण्डेको नाम भने कायमै छ।
उनले सञ्चालन गरेको आर.पी. ट्रेड प्रा.लि.ले तिर्नुपर्ने कर्जा नतिरेको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उनलाई कालोसूचिमा राखेको हो। बैंकले गत पुस ६ गते चेतावनीसहित ३५ दिनभित्र कर्जा चुक्ता नगरे कालोसूचिमा राखिने सूचना प्रकाशित गरेको थियो। पाण्डेले तोकिएको समयभित्र कर्जा तिरेनन् र कर्जा सूचना केन्द्रले २०८२ माघ २८ गते उनलाई कालोसूचिमा राखेको कागजात प्राप्त भएको छ।
पाण्डे माथि वीरगञ्ज–भारत नाकाबाट लत्ताकपडा आयात गर्दै राजस्व छली गरेको आरोपसमेत लाग्दै आएको छ। यसअघि सोही क्षेत्रमा निर्वाचित एमाले सांसद राजकुमार गुप्ता ७६ लाख रुपैयाँ घुस प्रकरणमा डिल्लीबजार कारागारमा छन्।
पाण्डे यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए। कांग्रेसले प्राध्यापक सुरेन्द्र चौधरीलाई टिकट दिएपछि उनी एमाले प्रवेश गरी उम्मेदवार बनेका हुन्।
कालोसूचि सम्बन्धी विषयमा प्रतिक्रिया लिन पाण्डेको मोबाइलमा सम्पर्क गर्दा फोन बन्द रहेको छ।







Discussion about this post