बंगलादेशमा विद्यार्थी आन्दोलनको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले आम निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न सकेन। जारी मतगणनाका क्रममा पार्टीले ४ देखि ५ सिट जितेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ढाका ट्रिब्युनका अनुसार एनसीपीले हालसम्म ४ सिट जितेर एक क्षेत्रमा अग्रता कायम गरेको छ भने अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ५ सिट जितेको उल्लेख गरेका छन्। ३० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको एनसीपीले कमजोर नतिजापछि मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको बताइएको छ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना पदच्युत भएकी थिइन्। सोही आन्दोलनबाट उदाएको एनसीपीको नेतृत्व आन्दोलनका चर्चित अनुहार नाहिद इस्लामले गरिरहेका छन्।
आन्दोलन चर्किएपछि हसिना भारत निर्वासनमा पुगेकी थिइन्। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले हालको निर्वाचन सम्पन्न गराएको हो। हसिनाको दलमाथि प्रतिबन्ध लागेकाले उक्त निर्वाचनमा सहभागी हुन पाएको थिएन।
यस निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने बताइएको छ।
भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले भने निर्वाचनलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भन्दै अन्तरिम सरकार प्रमुख युनुसमाथि गैरकानुनी रूपमा सत्ता कब्जा गरेर चुनाव गराएको आरोप लगाएकी छन्।







Discussion about this post