स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार ३ हजार ५ सय रुपैयाँ योगदानमा ५ सदस्यीय परिवारले पाउने कुल १ लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत् रहेको छ।
बोर्डले उक्त रकममध्ये २५ हजार रुपैयाँ ओपीडी सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक उपचारका लागि प्रयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ६ जना परिवारसम्मका लागि ३ हजार ५ सय रुपैयाँ योगदानमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपलब्ध हुने प्रावधान छ।
यस्तै, थप प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान थपिँदै जाने र प्रत्येक अतिरिक्त सदस्यका लागि २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने व्यवस्था रहेको बोर्डले जनाएको छ।
अनावश्यक ओपीडी सेवा र दोहोरोपन नियन्त्रण गरी गम्भीर तथा जटिल रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न खर्चको शीर्षक छुट्याइएको बोर्डको भनाइ छ। हाल स्वास्थ्य बीमा बजेटको ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपीडी सेवामै खर्च भइरहेको उल्लेख गर्दै बोर्डले तोकिएको शीर्षकअनुसार मात्रै सेवा उपयोग गर्न आग्रह गरेको छ।







Discussion about this post