पोखराको बहुचर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताले दिएको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै दायर निवेदन न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको हो।
यसअघि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासले अन्य प्रतिवादीसँग सम्बन्धित निवेदनको अवस्था यकिन गर्न आदेश दिएको थियो। सोही प्रक्रियापछि निवेदन पुनः पेश भई सुनुवाइका लागि नयाँ इजलासमा परेको हो।
कास्कीस्थित लिचीबारी जग्गा प्रकरणमा अख्तियारले तत्कालीन मन्त्री गुप्ताले सरुवा रोकिदिने र भूमि आयोगमा नियुक्ति गरिदिने आश्वासन दिँदै ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ। साथै आपसी मिलेमतोमा थप २५ लाख रुपैयाँ लिएको अभियोग पनि छ।
गुप्ताले आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोध भएको दाबी गरे पनि विशेष अदालतले हाल संकलित प्रमाणका आधारमा उनलाई थुनामै राख्ने आदेश दिएको थियो।







Discussion about this post