थाइल्याण्डमा अर्को महिना हुने एसीसी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीको कप्तानी पूजा महतोले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले नियमित कप्तान इन्दु बर्मा चोटका कारण बाहिर रहेपछि पूजाको नेतृत्वमा टोली घोषणा गरेको हो।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत स्कटल्याण्डसँगको खेलमा इन्दु बर्मा घाइते भएपछि कप्तानीको जिम्मेवारी पूजाले पाएकी हुन्। पूजा हाल राष्ट्रिय टोलीकी नियमित उप–कप्तानसमेत हुन्।
फागुन १ देखि १० गते (फेब्रुअरी १३–२२) सम्म चल्ने प्रतियोगितामा ८ टोली सहभागी छन्। समूह ‘ए’ मा नेपालसहित भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई रहेका छन् भने समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, थाइल्याण्ड र मलेसिया छन्। राउन्ड रोबिनपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालले फागुन १ गते पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि फागुन ३ गते युएई र फागुन ५ गते भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका छ।







Discussion about this post