शहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले लोकतन्त्र र अधिकारका लागि ज्यान अर्पण गर्ने अमर शहिदहरूको योगदान स्मरण गर्दै विभिन्न स्थानमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
रुङटाले नारायणी अस्पताल परिसरमा अवस्थित प्रजातान्त्रिक आन्दोलनका अग्रज शहिद थिरबम मल्लको शालिकमा फुलमाला अर्पण गर्दै निरंकुशताविरुद्धको संघर्षमा उहाँले देखाएको साहस र त्याग आज पनि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। त्यसपछि उनले घण्टाघर क्षेत्रमा मधेस आन्दोलनका क्रममा शहिद भएका व्यक्तिहरूको शालिकमा पुष्प अर्पण गर्दै समानता, पहिचान र समावेशी लोकतन्त्रका लागि उनीहरूले दिएको बलिदानले मुलुकको दिशा तय गरेको बताए।
यस्तै, गण्डक चौकमा नेपाली कांग्रेसका कमाण्डर तेजबहादुर अमात्यको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै रुङटाले लोकतन्त्र स्थापनादेखि सुदृढीकरणसम्म अमात्यको योगदान ऐतिहासिक रहेको धारणा व्यक्त गरे। शहिदहरूको बलिदानकै कारण आज नागरिकले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकार उपभोग गर्न पाएको उनको भनाइ थियो।
उनले नेपाली कांग्रेस शहिदहरूको सपना साकार पार्ने दिशामा सदैव जनताको पक्षमा उभिँदै आएको र आगामी दिनमा पनि न्याय, समानता र समृद्ध समाज निर्माणका लागि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
श्रद्धाञ्जली कार्यक्रममा पर्सा क्षेत्रका पार्टी नेताहरू, पूर्व नगर तथा क्षेत्रीय सभापतिहरू, नेपाल विद्यार्थी संघका पदाधिकारी तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सचिव हरि यादवले गरेका थिए।







Discussion about this post