शहिद दिवस : शहीदका सपना पूरा गर्ने समय आएको बालेन शाहको भनाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले शहिद दिवसको अवसरमा शहीदहरूको बलिदानलाई सम्मान गर्दै सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणको प्रतिबद्धता जनाएका छन्।

शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूर रूपमा हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गरेका छन्। उनले त्यसको एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको टिप्पणी गरेका छन्।

उनका अनुसार ८५ वर्षको अवधिमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिँदा नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको छ। “धेरै शहीद भए, तर शहीदका सपना पूरा हुन सकेनन्,” उनले लेखेका छन्।

शाहले पछिल्लो समय भदौको ‘जेन्जी आन्दोलन’ का क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले समेत ज्यान गुमाउनुपरेको उल्लेख गर्दै अब शहीदका बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन्।

उनले दीर्घकालदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने, राज्यका निकायमा मौलाएको चरम दलीयकरण अन्त्य गरी राज्यलाई जवाफदेही र पारदर्शी बनाउने दायित्व अहिलेको पुस्ताको काँधमा आएको बताएका छन्।

“अब समय आएको छ—शहीदको रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने,” शाहको सन्देशमा उल्लेख छ। उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान गर्दै फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना गरेका छन्।

शाहले अन्त्यमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित