निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा सामाजिक सञ्जालबाट फैलिन सक्ने गलत, भ्रामक र नकारात्मक गतिविधि नियन्त्रण गर्ने जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, डिपफेक, नक्कली साइट वा एकाउन्ट तथा मानहानीजन्य सामग्रीमाथि निगरानी गरी गैरकानुनी कार्यमा संलग्नलाई कानुनअनुसार कारबाही गरिनेछ।
यसका लागि आयोगले नियामक निकायसँग सहकार्य गर्दै सामाजिक सञ्जाल अनुगमन सफ्टवेयर प्रयोगमा ल्याएको जनाएको छ। यसै हप्ता मेटा, टिकटक र एक्स (ट्वीटर) का प्रतिनिधिसँग संवाद तथा पत्राचार गरिएको आयोगले जानकारी दिएको छ।
चुनाव सफल बनाउन प्रदेश सरकार र स्थानीय तहसँग समन्वय बैठक, आचारसंहिता अनुगमन समिति बैठक सम्पन्न भइसकेको छ भने मतदाता नामावली र समानुपातिकतर्फका मतपत्र छपाइको काम पनि सुरु भएको छ।







Discussion about this post