धनुषामा मस्जिदमा तोडफोड गरी धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाप्रति आक्रोश जनाउँदै मुस्लिम समुदायले आइतबार बिहान वीरगंजमा विरोध प्रदर्शन गरेका छन्।
धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम बस्तीको मस्जिदमा शनिबार अज्ञात समूहले आक्रमण गर्दै कुरान जलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको विरोधस्वरूप प्रदर्शन आयोजना गरिएको हो।
प्रदर्शनका क्रममा घण्टाघर, मुर्ली र छपकैयास्थित इदगाह चोक आसपासका क्षेत्रमा सडक अवरुद्ध गर्दै टायर बालिएको थियो। प्रदर्शन उग्र बन्दै जाँदा छपकैयाको इदगाह चोकमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रयोग गरेको जनाएको छ। उक्त क्रममा एक जना प्रहरी सामान्य रूपमा घाइते भएका छन्।
प्रदर्शनमा सहभागीहरूले धार्मिक स्थलमा गरिएको तोडफोड र पवित्र ग्रन्थ जलाउने कार्यलाई गम्भीर अपराधको रूपमा लिँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।







Discussion about this post