मकवानपुरमा चेकजाँच ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न कारसमेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बिहिवार गते साँझ करिब ७:४५ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गरिरहेको थियो। सो क्रममा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारका चालकलाई ब्रेथलाईजर मेसिनमार्फत मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न लाग्दा चालकले अचानक कारको सिसा बन्द गरी भागेका थिए।
भाग्ने क्रममा चालकले ड्युटीमा रहेका प्रहरी जवान विजय प्रताप साहलाई करिब १० मिटर घिसार्दा उनी घाइते भएका थिए। घाइते प्रहरीलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि फरार कार र चालकको खोजतलास गर्ने क्रममा हिजो जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको समन्वयमा भरतपुर महानगरपालिका–१० हाकिमचोकबाट बा ६ च ८४०९ नम्बरको कारसहित चालकलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्। उनलाई ब्रेथलाईजर मेसिनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Discussion about this post