जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर वीरगञ्ज नगर परिक्रमा गर्दै राष्ट्रिय पोसाक दिवस मनाएका छन्। ‘धोती–टोपी एक हौँ’ भन्ने सन्देशका साथ आयोजित कार्यक्रममा सांस्कृतिक पहिचान, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गरिएको थियो।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मधेसी समुदायमाथि हुने विभेदको विरोध जनाउँदै राष्ट्रिय पोसाक दिवस मनाइएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए। उनका अनुसार मधेसी पहिचानसँग जोडिएको धोतीप्रति हुने भेदभावविरुद्ध आवाज उठाउन र तराई–पहाडबीच एकताको सन्देश दिन कार्यक्रम गरिएको हो।
नगर परिक्रमाका क्रममा सहभागीहरूले धोती र टोपी दुवै नेपाली पहिचानका अभिन्न अङ्ग भएको उल्लेख गर्दै ‘तराई–पहाड एक हौँ’ भन्ने नारा लगाएका थिए। आयोजकले यस्तो कार्यक्रमले विविधताभित्रको एकता, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।







Discussion about this post