निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। हिजो बसेको आयोगको बैठकले आचारसंहिता पारित गरेको हो ।
यसपटकको आचारसंहितामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी भ्रामक सूचना, दुष्प्रचार वा घृणापूर्ण भाषण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जालमा एआई प्रयोग गरेर दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री पोस्ट, शेयर वा रिपोस्ट गर्न पनि रोक लगाइएको छ ।
हरित निर्वाचनको अवधारणाअनुसार प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गरिएको छ भने वातावरणमैत्री सामग्री प्रयोग गर्न प्रोत्साहन गरिएको छ । मतदानको ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म चुनावी प्रचार निषेध गरिएको छ ।
उम्मेदवारले चुनाव खर्चको अनुमान र स्रोत अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ । आचारसंहिता उल्लङ्घन गरे एक लाख रुपैयाँसम्म जरिबाना वा उम्मेदवारी रद्द हुन सक्ने आयोगले जनाएको छ। आचारसंहिता लागू हुने मिति भने पछि तय गरिनेछ ।







Discussion about this post