सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगका कारण विश्वभर झन्डै ५५ हजार मानिसले रोजगारी गुमाएका छन्। अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला प्रविधि कम्पनीहरूले कर्मचारी कटौतीको मुख्य कारण एआईलाई उल्लेख गरेको अमेरिकी वित्तीय च्यानल सीएनबीसीले जनाएको छ।
यस वर्ष अमेरिकामा मात्रै ११ लाख ७० हजार रोजगारी कटौती भएको छ, जुन कोभिड–१९ महामारीपछि सबैभन्दा ठूलो संख्या हो। अमेजनले आफ्नो इतिहासकै ठूलो कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको छ। कम्पनीका प्रमुख कार्यकारी एन्डी जेसीले एआईका कारण कार्यबल घट्ने संकेत यसअघि नै दिइसकेका थिए।
माइक्रोसफ्टले करिब १५ हजार कर्मचारी कटौती गरेको छ भने भारतको आईटी क्षेत्रका दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेजले झन्डै २० हजार रोजगारी घटाएको छ।
सेल्सफोर्सले सेप्टेम्बरमा ४ हजार ग्राहक सेवा कर्मचारी हटाउँदै एआईले आधाभन्दा बढी काम सम्हाल्न सक्ने दाबी गरेको छ। वर्कडेले पनि एआईमा लगानी बढाउने उद्देश्यसहित १ हजार ७ सय ५० कर्मचारी कटौती गरेको जनाएको छ।
यसैबीच, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) को अध्ययनले एआईले अमेरिकी श्रम बजारको ११.७ प्रतिशत काम गर्न सक्षम भइसकेको देखाएको छ। यद्यपि, कर्मचारी कटौतीका वास्तविक कारण र एआईको प्रत्यक्ष भूमिकाबारे बहस भने जारी छ।







Discussion about this post