वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर किर्ते नागरिकता दिएको विषयमा गृहमन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मेयर सिंहले आफै बाबु सनाखत बसेर रुबिना श्रेष्ठलाई नागरिकता दिलाएको विषय सिधाकुराले प्रकाशन गरेपछि विस्तृत अनुसन्धानका लागि जिल्ला प्रशासनलाई निर्देशन दिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार नागरिकताका सबै विवरण जिल्ला प्रशासनमा हुने भएकाले प्रारम्भिकरुपमा प्रशासनले अध्ययन गरेर गृहलाई जानकारी गराउनेछ ।
भट्टराईले भने, ‘प्रारम्भिकरुपमा जिल्ला प्रशासनले अध्ययन गरेर गृहमन्त्रालयमा पठाउन भनिएको छ, प्रशासनको प्रतिवेदनपछि आवश्यक कदम चालिनेछ ।’
मेयर सिंहले नागरिकताका लागि २०७४ सालमा वडा न ३ बाट सिफारिस बनाएर जिल्ला प्रशासन कार्यालयमा पेश गरेका थिए । सोही सिफारिसलाई देखाएर जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता दिएका थिए ।
पहिलो पटक नागरिकता जारी भएको १९ महिनामै पुन प्रशासकीय अधिकृत विनय श्रीवास्तवले प्रतिलिपि जारी गरिदिएका थिए । त्यसको केही समयपछि पासपोर्ट समेत जारी भएको देखिन्छ ।
पर्सामा यस अघि प्रमुख जिल्ला अधिकारी ले मेयरको नागरिकताको विवाद आएपछि फाइल हेर्दा मेयर सिंहलेनै आफ्नी छोरी भन्दै लिएर आएकाले नागरिकता जारी भएको देखिएको बताएका थिए ।
तीनदिन देखि खोज्दा पनि अनुसूची भेटिएन: प्रजिअ भुषाल
हाल पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने रुबिना श्रेष्ठका नाममा नागरिकता जारी हुँदाको अनुसूची नभेटिएको बताए ।
तीनदिन देखिनै अनुसूची खोज्न भनिएको छ तर भेटिएको छैन, ‘भुषालले भने नागरिकता जारी भएको मितिको पोकोमा छैन, अन्यत्र कतै परे जस्तो छ । यस अघि पनि यो विषय सोधखोज भएको रहेछ, त्यहीबेला फाइल यताउता भएको हुनसक्छ ।’
यता, मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता किर्ते गरेको विषयमा छानबिन गर्न थप १५ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
मेयर सिंहले नागरिकता ऐन विरुद्धको कसुर गरेको भन्दै वीरगंजमा क्रियाशील विभिन्न राजनीतिक दल तथा नागरिक समाजका १५ जनाले बुधाबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
मंगलबार मेयर सिंहका छिमेकी महम्मद साबुदिनले पनि मेयर सिंह नागरिकता लिने रुबिना श्रेष्ठ विरुद्ध उजुरी दिएका थिए ।







Discussion about this post