बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार जीतपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी छोरी गरिमा साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। परिवार तथा स्थानीयले खोजी गरिरहेका अवस्थामा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
बालिका मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट जीतपुरसिमरा–२ निवासी १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका सहचालक सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिक गाडीका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गर्ने काम भइरहेको जनाएको छ।







Discussion about this post