सभामुखमा डीपी अर्याल निर्विरोध : आइतबार पदभार सम्हाल्ने

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। उनको औपचारिक घोषणा आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा गरिनेछ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता खुला गरिएको थियो। तोकिएको समयमा अर्यालको एकल उम्मेदवारी परेपछि प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार उनलाई निर्विरोध सभामुख घोषणा गरिने व्यवस्था छ।

प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ बहुमत भएकोले प्रतिपक्षी दलहरूले सभामुखमा उम्मेदवारी दर्ता गरेका छैनन्। २७५ सदस्यीय संसद्‍मा रास्वपाका १८२ सांसद छन् भने नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सांसद रहेका छन्।

सभामुख चयनपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। संवैधानिक प्रावधानअनुसार उपसभामुख फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने व्यवस्था छ। निर्वाचित सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् भने उपसभामुखले सभामुख समक्ष शपथ लिने व्यवस्था छ।

उपसभामुख पद कसको हुनेछ भन्ने विषयमा दलहरूबीच छलफल अझै बाँकी रहेको छ। यस पदको संवैधानिक परिषद्का सदस्यका रूपमा हुने भूमिका अन्य संवैधानिक निकायहरूको सिफारिस प्रक्रियामा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित