शिक्षामन्त्री सस्मित पोखरेल ले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले एसइइपछि कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुने ट्युसन सेन्टर र ब्रिज कोर्स बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।
यसअघि शिक्षा मन्त्रालयले विद्यालय तह र उच्च शिक्षामा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णयसहित सूचना सार्वजनिक गरेको थियो। तर सम्बन्धित व्यवसायीहरूको विरोधपछि उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको थियो।
पछि मन्त्रालयले फेरि अर्को सूचना जारी गर्दै उच्च शिक्षाका विभिन्न तह लक्षित कार्यक्रम प्रचलित कानुनअनुसार सञ्चालन नभएको भए बन्द गर्न निर्देशन दिएको छ। साथै विद्यालय तहमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सका नाममा सञ्चालन हुने कार्यक्रम बन्द गराउन निर्देशन दिइएको छ।
आउँदो वैशाख १ गतेदेखि यस्तो कार्यक्रम पूर्ण रूपमा बन्द गराउने निर्णयअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।







Discussion about this post