नेपाली कांग्रेसले सरकारको असंयमित र हतारोपूर्ण निर्णयले मुलुक पुनः द्वन्द्व र अस्थिरतातर्फ धकेलिन सक्ने भन्दै चेतावनी दिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले शनिबार पाँच बुँदे धारणा सार्वजनिक गरेका हुन्।
कांग्रेसले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले अनुसन्धान तथा अभियोजन हुनुपर्नेमा जोड दिएको छ। उक्त घटनामा संलग्न व्यक्ति र समूहको पहिचान गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने पनि पार्टीको माग छ।
दुवै दिन भएका घटनामा संलग्न जो–सुकै भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने तर त्यो प्रक्रिया उत्तेजना वा राजनीतिक आग्रहका आधारमा नभई विधिसम्मत ढंगले अघि बढाइनुपर्ने कांग्रेसको धारणा छ।
सरकारले संयमता गुमाएर हतारमा निर्णय लिँदा विधिको शासन कमजोर हुन सक्ने र त्यसले देशलाई पुनः अस्थिरताको दिशामा लैजान सक्ने खतरा रहेको भन्दै कांग्रेसले यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ।







Discussion about this post