विद्यालय भवन अभाव र जीर्ण अवस्थालाई मध्यनजर गर्दै ‘विल्डअन’ नेपालले मधेस प्रदेशमा ४० वटा आधारभूत विद्यालयका भवन निर्माण गर्ने योजना अघि बढाएको छ। सन् २०२६ भित्र लक्ष्य पूरा गर्नेगरी काम सुरु गरिएको संस्थाले जनाएको छ।
शुक्रबार सिरहाको लहानमा आयोजित कार्यक्रममा ‘विल्डअन’ नेपाल, लहान नगरपालिका र स्थानीय समुदायबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पश्चात लहान–२ स्थित भानु आधारभूत विद्यालय, लहान–१ स्थित सिंगराही मटियर्वा विद्यालय र लहान–४ को मधेस सहिद विजय सहनी आधारभूत विद्यालयमा भवन तथा शौचालय निर्माणको शिलान्यास गरिएको छ।
कार्यक्रममा ‘विल्डअन’की निर्देशक निर्मला चौधरी र लहान नगरप्रमुख महेशप्रसाद चौधरी सहभागी थिए। प्रत्येक विद्यालय भवन निर्माणका लागि संस्थाले करिब ३३ लाख रुपैयाँ र नगरपालिकाले १५ लाख रुपैयाँ योगदान गर्नेछ भने स्थानीय समुदायको श्रमदान अनिवार्य रहेको छ।
संस्थाका अनुसार सिरहामा २० विद्यालय भवन र समग्र मधेस प्रदेशमा ४० विद्यालय भवन निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रत्येक भवन निर्माण कार्य तीन महिना १६ दिनभित्र सम्पन्न गर्ने योजना बनाइएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘विल्डअन’ले विकासोन्मुख देशहरूमा विद्यालय पूर्वाधार निर्माण गर्दै आएको छ। हालसम्म नेपालका विभिन्न प्रदेशमा सयौँ विद्यालय भवन निर्माण गरिसकेको संस्थाले जनाएको छ।







Discussion about this post