जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सदस्य बनेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई समानुपातिकतर्फ खसआर्य समूहबाट संसद्मा पठाएको हो।
छोराको मृत्युपछि न्यायको माग गर्दै सडक आन्दोलनमा सक्रिय बनेकी रचनाले अब सोही आवाज संसद्मा उठाउने बताएकी छन्। उनले आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्ने मागलाई प्राथमिकताका साथ अघि बढाउने जनाएकी छन्।
राजनीतिमा पहिलोपटक प्रवेश गरेकी रचना यसअघि गृहिणीका रूपमा रहेकी थिइन्। परिस्थितिले राजनीतिमा ल्याए पनि अब सहिद परिवारको प्रतिनिधित्व गर्दै न्याय र सुशासनका मुद्दा उठाउने उनको भनाइ छ।
छोराको निधनपछि आफ्नो जीवनको दिशा परिवर्तन भएको उल्लेख गर्दै उनले सहिद परिवारका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।







Discussion about this post